शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओमानमाथि नेपालको शानदार जित, प्रिमियर कपको फाइनलमा प्रवेश

बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटियो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए भने जितेन रमानान्दीले १२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको जितमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३–३ विकेट लिए। ललित राजवंशी र रोहित पौडेलले २–२ विकेट लिएपछि ओमानको ब्याटिङ लाइनअप धराशायी भएको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५।४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रनको योगदान दिए भने बसिर अहमदले ४७ रन बनाए।

ओमानका जय विराम ओडेदारा र हसनैन शाहले नेपालका ३–३ विकेट लिए। मुहमद इमरानले २ विकेट हात पारे।

सेमिफाइनलमा शानदार जितसँगै नेपाल अब उपाधिका लागि शनिबार हुने फाइनलमा यूएईसँग भिड्नेछ। प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामी एशिया कपमा सहभागिता जनाउनेछ। त्यसैले फाइनल नेपालका लागि उपाधिसँगै एशिया कपको टिकट सुरक्षित गर्ने महत्वपूर्ण अवसर बनेको छ।