काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमानविरुद्ध १४७ रनमा अलआउट भएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। त्यस्तै, बसिर अहमदले ४७ रनको महत्वपूर्ण योगदान दिए।
नेपाल सुरुवातमै संकटमा परेको थियो। २३ रनमा पहिलो विकेट गुमाएको नेपाल एक समय ३६ रनमा चार विकेट गुमाएर दबाबमा थियो। त्यस अवस्थामा दीपेन्द्र र बसिरले धैर्यपूर्ण ब्याटिङ गर्दै ९३ रनको साझेदारी गरेपछि नेपालको इनिङ सम्हालिएको थियो।
तर साझेदारी टुटेपछि नेपालले लगातार विकेट गुमायो। १२९ रनमा पाँचौँ विकेट गुमाएको नेपाल थप १८ रन जोड्दा १४७ रनमै अलआउट भयो।
नेपालका देव खनालले १३ रन तथा आसिफ शेखले ११ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
अब फाइनल प्रवेशका लागि ओमानले १४८ रनको लक्ष्य पछ्याउनेछ। नेपालका बलरमाथि ओमानलाई रोक्दै फाइनलको यात्रा सुरक्षित गर्ने चुनौती थपिएको छ।