बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

समूह विजेता बन्न नेपाल आज हङकङसँग भिड्दै, यस्तो छ विगतको इतिहास

मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ को समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र हङकङबीचको खेल क्वालालाम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ।

समूह चरणका तीन खेलमा लगातार जित निकाल्दै अपराजित रहेको नेपाल ६ अङ्कसहित समूह ‘ए’को शीर्ष स्थानमा छ। आज हङकङलाई पराजित गर्न सके नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेटले, दोस्रो खेलमा आयोजक मलेसियालाई छ विकेटले तथा तेस्रो खेलमा साउदी अरेबियालाई पाँच विकेटले पराजित गरेको छ। त्यसैले नेपाली टोली हङकङविरुद्ध पनि जितको लय कायम राख्ने लक्ष्यमा मैदान उत्रँदैछ।

उता हङकङले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। नेपाललाई समूहको शीर्ष स्थानमा उक्लन आजको खेल महत्वपूर्ण छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र हङकङबीच अहिलेसम्म चारपटक प्रतिस्पर्धा भएको छ। तीमध्ये नेपालले एक खेल जित्दा हङकङले दुई खेलमा जित निकालेको छ। एक खेल भने वर्षाका कारण रद्द भएको थियो।

यी दुई टोलीबीच पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय खेल भएको थियो। उक्त खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको थियो। नेपाली टोली आज पनि आठ वर्षअघिको त्यही सफलता दोहोर्‍याउने लक्ष्यमा हुनेछ।

एसिसी प्रिमियर कपको समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेता टोलीले सन् २०२७ मा आयोजना हुने एसिया कपमा सिधै स्थान बनाउनेछ।