काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ ।
नेपाल र बहराइन दुवैका लागि प्रतियोगिताको यो पहिलो खेल हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगिताको साविक विजेता नेपाल पहिलो खेलमै बहराइनलाई पराजित गर्दै सुखद सुरुआत गर्ने लक्ष्यमा छ ।
सन् २०२३ मा घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको थियो । यसपटक प्रतियोगितामा १० टोली सहभागी छन् ।
नेपाल समूह ‘ए’ मा बहराइन, मलेसिया, हङकङ र साउदी अरेबियासँगै रहेको छ । समूह चरणमा प्रत्येक टोलीले चार खेल खेल्नेछन् भने समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । त्यसैले नेपालका लागि समूह चरणका प्रत्येक खेल महत्वपूर्ण रहनेछन् ।
नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषावकरले प्रतियोगितामा सहभागी कुनै पनि टोलीलाई कमजोर आँक्न नहुने बताए । उनले सबै टोली प्रतिस्पर्धी रहेकाले नेपालले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने धारणा राखे ।
नेपालले प्रतियोगिताअघि मलेसियासँग खेलेका दुई अभ्यास खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई नौ विकेटले पराजित गरेको थियो । उक्त खेलमा आसिफ शेखले १६१ रन बनाएका थियो भने कप्तान सन्दीप लामिछानेले चार विकेट लिएका थिए । दोस्रो अभ्यास खेलमा पनि नेपालले मलेसियालाई २७ रनले हराएको थियो ।
बहराइनले भने हालै तान्जानियामा सम्पन्न क्रिकेट विश्वकप च्यालेन्ज लिग समूह ‘बी’ खेलेर आएको हो । उक्त प्रतियोगितामा बहराइनले सिङ्गापुर र युगान्डालाई पराजित गरेको थियो ।
एसिसी प्रिमियर कपका लागि नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल रहेका छन् ।
नेपालले समूह चरणको दोस्रो खेल बिहीबार मलेसियासँग खेल्नेछ । त्यसपछि सेप्टेम्बर ६ मा साउदी अरेबिया र सेप्टेम्बर ८ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।