काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका करिब ७२ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल, ल्यापटप तथा तिनका पार्टपुर्जा, चुरोट र सुनजस्तो देखिने पहेँलो धातु बरामद गरिएको छ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक छन् झुसनको साथबाट बिलबिजक नभएका मोबाइल तथा ल्यापटप बरामद गरिएको हो। साथै, ल्यापटपका पार्टपुर्जा, डिस्प्ले, कभरलगायत सामग्री र सूर्तीजन्य पदार्थ चुरोटसमेत फेला परेको प्रहरीले जनाएको छ।
अन्तरराष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिरिने क्रममा शङ्का लागेपछि सोधपुछ तथा जाँच गर्दा करिब ७२ लाख २५ हजार रुपैयाँ बराबरका सामग्री बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो।
यसैगरी, कतारको दोहाबाट नेपाल एयरलाइन्समार्फत काठमाडौँ आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार गरिएको भन्ने सूचनाका आधारमा प्रहरीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ३५ वर्षीय कृष्ण यादवलाई पक्राउ गरेको छ।
विमानस्थलको अन्तरराष्ट्रिय पार्किङ क्षेत्रबाट पक्राउ परेका यादवको साथबाट विदेशबाट आएका तीन जना यात्रुलाई प्रयोग गरी भन्सार छली ल्याइएको सुनजस्तो देखिने पहेँलो धातुको तीन थान सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त धातुको तौल करिब ७५ ग्राम रहेको बताइएको छ।
साथै, सामग्री ल्याइदिने व्यक्तिलाई ज्यालाबापत दिनका लागि राखिएको ३० हजार रुपैयाँ पनि बरामद गरिएको छ। पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।