काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ वटा आपराधिक घटना दर्ता भएका छन्। प्रहरीले ती घटनामा संलग्न ७६ प्रतिवादीलाई पक्राउ गर्नुका साथै ६५९ सवारीसाधनलाई कारबाही गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको साउन महिनाको प्रगति विवरणअनुसार दर्ता भएका ७४ आपराधिक घटनामध्ये ४१ मुद्दाको फछ्र्योट भइसकेको छ भने बाँकी घटनाको अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ परेका ७६ जना विभिन्न अपराधमा संलग्न भई चालु मुद्दाका प्रतिवादी हुन्। उहाँका अनुसार पछिल्लो समय जिल्लामा आर्थिक तथा वित्तीय अपराधको ग्राफ बढ्दै गएको देखिएको छ।
दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै १८ वटा बैंकिङ कसुरसम्बन्धी छन्। त्यस्तै, साधारण चोरी, मोटरसाइकल चोरी तथा चौपाया चोरीका १२ वटा मुद्दा दर्ता भएका छन्। सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, बोक्सीको आरोप, जबर्जस्ती करणी तथा करणी उद्योगलगायतका गम्भीर प्रकृतिका मुद्दासमेत दर्ता भएको प्रहरीले जनाएको छ।
यसै अवधिमा सवारी ज्यान मुद्दामा फरार रहेका २० अभियुक्तलाई पक्राउ गरिएको छ।
प्रहरीले गत साउनमा विभिन्न मुद्दामा एक वर्ष चार महिना १५ दिन बराबरको कैद सजाय कार्यान्वयन गराएको छ। त्यस्तै, रु २९ लाख ६९ हजार ९०० जरिवाना असुल गरिएको छ।
सडक सुरक्षा तथा अवैध गतिविधि नियन्त्रणका क्रममा प्रहरीले ६५९ सवारीसाधनलाई कारबाही गरी रु छ लाख एक हजार ५०० राजस्व सङ्कलन गरेको छ। नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न टिपर नियन्त्रणमा लिएर रु तीन लाख १७ हजार राजस्व दाखिला गराइएको प्रहरीले जनाएको छ।
त्यस्तै, जिल्लाका विभिन्न स्थानमा सञ्चालित १०७ वटा अवैध भट्टी नष्ट गरिएको छ। प्रहरीले ती भट्टीबाट एक हजार ३९८ लिटर अवैध घरेलु मदिरा र तीन हजार ३५ लिटर कच्चा पदार्थसमेत बरामद गरेको छ।
अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइबर अपराध, यौन दुर्व्यवहार, मानव बेचबिखन तथा लागुऔषधविरुद्ध ९८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रममार्फत १९ हजार ९१३ नागरिकलाई सचेत गराइएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो।
नागरिकको धनजनको सुरक्षा तथा अपराध नियन्त्रणका लागि जिल्लामा नियमित गस्ती, आकस्मिक चेकिङ र प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।