गण्डकी। कास्कीमा गत साउन महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ६७ जना प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा ५८ पुरुष र नौ महिला रहेका छन्। पक्राउ परेका प्रतिवादीलाई कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो।
उहाँका अनुसार पक्राउ परेका प्रतिवादीबाट आठ वर्ष सात महिना ११ दिन कैद तथा रु ३७ लाख ९६ हजार ५२० बिगो असुल भएको छ।
चेक अनादर, बिगो लेनदेन, बैंकिङ कसुर, सवारी ज्यान, अभद्र व्यवहारलगायतका कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले पछिल्लो समय सक्रियता बढाएको जनाएको छ। कार्यालयका अनुसार गत साउन महिनामा चालु मुद्दामा १८१ जना पक्राउ परेका थिए।
साउनमा कास्कीमा अपराधसँग सम्बन्धित १६८ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १३, आर्थिक अपराधका ५३ र अन्य अपराधसँग सम्बन्धित ८२ वटा मुद्दा रहेका छन्।