काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले करिब एक सातादेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्ने भएका छन्।
थापाले दिउँसो ४ बजे बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा उनले पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको तीनदिने भेलामा आफूविरुद्ध उठाइएका प्रश्न, आलोचना र टिप्पणीको जवाफ दिने तयारी गरेको कांग्रेस स्रोतले जनाएको छ।
देउवा पक्षले आयोजना गरेको भेलामा सभापति थापाको कार्यशैली तथा पछिल्ला राजनीतिक गतिविधिबारे विभिन्न प्रश्न उठाइएको थियो।
यसैबीच, थापाले हिजो धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै पछिल्ला केही दिनमा आफूविरुद्ध अत्यधिक आलोचना भएको बताएका थिए।
‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, जानेर नजानेर गएको तीन दिनमा मेरो निन्दा भएको छ,’ उनले भनेका थिए।
उनले पछिल्लो समय सञ्चारमाध्यमका हेडलाइनसमेत आफ्नो आलोचनाले भरिएको गुनासो गरेका थिए।
आजको केन्द्रीय समिति बैठकमा थापाको सम्बोधनसँगै देउवा पक्षको भेलामा उठाइएका विषय, पार्टीभित्रको पछिल्लो विवाद तथा नेतृत्वको कार्यशैलीबारे छलफल हुने अपेक्षा गरिएको छ।