काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक दलभित्र सत्तामा पुग्नुलाई मात्रै सफलता मापन गर्ने आधार बनाइँदा राजनीतिक दलहरू असफल मान्छे उत्पादन गर्ने कारखानाजस्तो बन्न पुगेको टिप्पणी गरेका छन्।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले कति पटक सभापति, सांसद वा मेयर बनियो भन्ने आधारमा मात्रै राजनीतिक सफलता मापन गर्ने प्रवृत्तिले राजनीतिक संस्कारमै विचलन ल्याएको बताए।
उनका अनुसार अहिले पदमा रहेका नेताहरू पद गुम्ने चिन्तामा छन् भने पदबाट बाहिरिएका नेताहरू पुनः पदमा पुग्न नसकिने चिन्तामा छन्। कांग्रेस र एमाले दुवै दलमा यस्तो प्रवृत्ति देखिएको उनको दाबी छ।
‘कति पटक सभापति हुनुभयो, कति पटक सांसद हुनुभयो, कति पटक मेयर हुनुभयो भन्ने आधारमा मात्रै नाप्ने हो भने नेपालको राजनीतिक दल सबैभन्दा बढी असफल मान्छेहरू उत्पादन गर्ने कारखाना हो,’ थापाले भने।
राजनीतिक दलभित्र पद र शक्तिलाई सफलताको मुख्य मापदण्ड बनाइएकाले अधिकांश नेता असन्तुष्ट र निराश रहेको उनले बताए। नयाँ पुस्तामा समेत संघर्षभन्दा प्राप्तिलाई मात्रै महत्व दिने प्रवृत्ति बढेको उनको भनाइ छ।
‘सफलताको मानक नै हामी सत्तामा वा शक्तिमा कति पटक गयौँ भन्ने बनाइएको छ। यो परिभाषा नबदलिकन समस्या समाधान हुँदैन,’ उनले भने।
थापाले राजनीतिक दलको ‘आत्मा’ नेताहरूको घरमा नभई लामो समयसम्म पार्टी र राजनीतिक आन्दोलनका लागि संघर्ष गरेका परिवारहरूको इतिहासमा खोजिनुपर्ने बताए। कांग्रेसमा योगदान गरेका परिवारहरूको इतिहास खोजेर उनीहरूलाई पुनः पार्टीसँग जोड्न आफू इच्छुक रहेको उनको भनाइ छ।
उनले सञ्चारमाध्यमलाई पनि राजनीतिक पद र शक्तिमा रहेका व्यक्तिका अभिव्यक्तिलाई मात्रै केन्द्रमा नराख्न आग्रह गरे। पछिल्लो तीन दिनमा आफूले जीवनमा अहिलेसम्मकै सबैभन्दा बढी निन्दा खेपेको पनि थापाले बताए।
‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, जानेर नजानेर गएको तीन दिनमा मेरो निन्दा भएको छ,’ उनले भने।
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आफ्नो आलोचना भएको सन्दर्भमा थापाले यस्तो धारणा राखेका हुन्। पछिल्लो समय सञ्चारमाध्यमका हेडलाइनहरू समेत आफ्नो आलोचनाले भरिएको उनको गुनासो थियो।
बीपीको विचारलाई आफूअनुकूल व्याख्या गर्ने प्रवृत्ति बढ्यो
सभापति थापाले कांग्रेसभित्र पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफूअनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्।
उनले बीपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढेको बताए।
विशेषगरी राजनीतिक आवश्यकता पर्दा ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगमा मात्रै बीपीलाई सम्झने गरिएको उनको टिप्पणी थियो। आफ्ना राजनीतिक निर्णय आफैँ गर्न नसकेर बीपीको नामको सहारा लिने प्रवृत्ति देखिएको भन्दै उनले यस्तो प्रवृत्तिले बीपीका वास्तविक विचारलाई कमजोर बनाउने बताए।
थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्रै सीमित गर्न नहुने धारणा राखे। बीपीको आह्वानमा परिवार र व्यक्तिगत जीवन त्यागेर राजनीतिक आन्दोलनमा होमिएका पुरानो पुस्ताका अभियन्ताहरूका पुस्तक, अभिव्यक्ति र अनुभवले बीपीको वास्तविक विचार तथा राजनीतिक यात्रालाई बुझ्न महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।