काठमाडौँ । प्रहरीमा भर्ती गराइदिने भन्दै रु १० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–१ का हरिबहादुर रसाइली रहेका छन्।
प्रहरीका अनुसार रसाइलीले गृह मन्त्रालयका विशिष्ट अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको र प्रहरीको अन्तर्वार्तामा नाम प्रकाशित गराइदिने भन्दै रकम लिएर ठगी गरेको पाइएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार रसाइलीलाई बबरमहलबाट पक्राउ गरिएको हो। पक्राउ परेका रसाइलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उनले जानकारी दिए।
प्रहरीका अनुसार रसाइली बैंकिङ कसुरसम्बन्धी मुद्दामा समेत फरार रहेको पाइएको छ।