मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पेस्तोलसहित तीन जना पक्राउ, विभिन्न स्थानबाट चार भरुवा बन्दुक बरामद

सोमबार, साउन २५ २०८३

काठमाडौं  । कपिलवस्तुको विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ का २३ वर्षीय आषिश पाण्डे, २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन् । उनीहरूलाई प्रहरीले गएराति पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

कृष्णनगर नगरपालिका–८ बहादुरगञ्जमा पेस्तोल देखाएर डर, धम्की दिँदै हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले उनीहरूलाई एक थान पेस्तोलसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको लु६१प ७०७२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, प्रहरीले धादिङ, प्युठान र गुल्मीबाट चार थान भरुवा बन्दुकसमेत बरामद गरेको छ ।

धादिङको गङ्गाजमुना गाउँपालिका–७ सुकौराबेँसी तिसमुरेस्थित जङ्गलको ओढारबाट आज बिहान एकनाले भरुवा बन्दुक एक थान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उक्त बन्दुक फेला पारेको हो ।

त्यस्तै, प्युठानको झिमरुक गाउँपालिका–४ छहरापातलस्थित हरियापातल सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

गुल्मीको मदाने गाउँपालिका–२ र ५ बाट पनि दुई थान भरुवा बन्दुक बरामद गरिएको छ ।

बरामद भएका हतियारका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।