काठमाडौँ काठमाडौं, बर्दिया र झापाका विभिन्न स्थानबाट अवैध लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले काठमाडौंको मित्रनगरस्थित एक गेष्ट हाउसबाट भुजाको बोराभित्र लुकाइछिपाइ राखिएको ४३ ग्राम खैरो हेरोइन बरामद गर्दै तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हितबहादुर बस्नेत, रामकृष्ण शर्मा र धनञ्जय पासवान रहेका छन्। उनीहरूको साथबाट प्रहरीले दुई थान डिजिटल तराजु, ११ थान मोबाइल फोन तथा ५० हजार रुपैयाँ नगद पनि बरामद गरेको छ।
त्यसैगरी, बर्दियाको बाँसगढी नगरपालिका–५ मैनापोखर चोकबाट ५४० मिलिग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–६ निवासी २४ वर्षीय किरण नेपाली र ३६ वर्षीय सतिराम थारू रहेका छन्।
यस्तै, झापा गाउँपालिका–१ बाट १ ग्राम ६७ मिलिग्राम खैरो हेरोइन सहित शिवसताक्षी नगरपालिका–९, दुधे बस्ने तथा काभ्रेको रोशी गाउँपालिका–१२ घर भएका ३० वर्षीय विराज भुजेल पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।