काठमाडौँ । प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि काठमाडौँमा एक युवकलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार गएराति तामाङलाई पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो।
गोली लागेर घाइते भएका तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनी विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।