मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सर्लाहीमा सुनचाँदी व्यवसायीका लागि कर तथा लेखा व्यवस्थापन अभिमुखीकरण सम्पन्न

सोमबार, साउन ११ २०८३

सर्लाही । सर्लाही सुनचाँदी व्यवसायी संघ, हरिवनको आयोजनामा “व्यवसायिक एकता, पारदर्शिता र समृद्धिको आधार” भन्ने मूल नारासहित सुनचाँदी व्यवसायीहरूका लागि कर, बिलिङ, लेखा व्यवस्थापन तथा अडिट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

संघका अध्यक्ष निरञ्जनकुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका महासचिव निरबहादुर विश्वकर्मा (विमल धमला) प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

सरल व्यक्तित्व, स्पष्ट धारणा, इमानदार कार्यशैली र संगठनप्रतिको अटल समर्पणका कारण विमल धमला व्यवसायी समुदायमाझ विश्वासिलो, जिम्मेवार र कर्मशील नेतृत्वका रूपमा स्थापित भएका छन् । व्यवसायिक अधिकारको संरक्षण, संगठनको सुदृढीकरण र सुनचाँदी क्षेत्रको समग्र विकासका लागि उनको सक्रियता व्यवसायी समुदायका लागि प्रेरणाको स्रोत बनेको छ।

कार्यक्रममा प्रशिक्षक महेश पोखरेलले वर्तमान कर प्रणाली, बिलिङ व्यवस्थापन, लेखा व्यवस्थापन तथा अडिट प्रक्रियाबारे व्यवहारिक र प्राविधिक जानकारी प्रदान गरे। सहभागी व्यवसायीहरूले कर तथा लेखा व्यवस्थापनसँग सम्बन्धित जिज्ञासा राख्दै अन्तरक्रियामा सक्रिय सहभागिता जनाए।

प्रमुख अतिथि विश्वकर्माले व्यवसायलाई कानुनी, पारदर्शी र व्यवस्थित बनाउन कर तथा लेखासम्बन्धी ज्ञान अपरिहार्य रहेको बताउँदै समयअनुकूल व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरे । साथै, व्यवसायीहरूको हक–हितको संरक्षण, व्यवसायमैत्री नीति निर्माण र संगठनको सुदृढीकरणका लागि महासंघ निरन्तर सक्रिय रहेको उल्लेख गरे ।

अध्यक्ष साहले कार्यक्रमले व्यवसायीहरूलाई कर, बिलिङ, लेखा व्यवस्थापन तथा अडिटसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण सहयोग पुगेको विश्वास व्यक्त गर्दै सहभागी, प्रशिक्षक तथा प्रमुख अतिथिप्रति आभार व्यक्त गरे ।