धनगढी । धनगढीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका एक युवकको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय ज्योति चौधरी रहेका छन्।
प्रहरीका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगलागीपछि परिवारका सदस्यले उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याएका थिए।
चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको थियो।
तर आफन्तले काठमाडौंस्थित अस्पतालमा उपचार गराउने निर्णय गरेपछि एम्बुलेन्समार्फत काठमाडौं लैजाँदै गर्दा आइतबार राति बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।