काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार आज दिउँसो २ः४५ बजे नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा सुरु हुनेछ। नामिबियाविरुद्धको खेलमा आठ विकेटको हार बेहोरेको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ।
लिग–२ को अंकतालिकामा शीर्ष चारभित्र पर्ने प्रतिस्पर्धा चर्किँदै गएका बेला नेपाललाई आफ्नो सम्भावना जीवित राख्न जित आवश्यक छ। हाल नेपाल २९ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ। समान खेलबाट २४ अंक नै जोडेको नामिबिया रनरेटका आधारमा छैटौँ स्थानमा रहेको छ।
नेदरल्यान्ड्स भने २८ खेलमा ३२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा अमेरिका ४३ अंकका साथ रहेको छ भने स्कटल्यान्ड ३८ अंकसहित दोस्रो स्थानमा छ। ओमान ३१ अंकसहित चौथो स्थानमा रहेको छ।
नेपालले यस शृंखलामा जुलाई २७ मा पुनः नामिबियासँग तथा जुलाई २९ मा फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ। शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनाउन नेपालले बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्नुपर्ने दबाबमा छ।
अंकतालिकामा क्यानडा २४ अंकसहित सातौँ स्थानमा रहेको छ भने १४ अंक जोडेको संयुक्त अरब इमिरेट्स (यूएई) पुछारमा छ।
आजको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवै विभागमा सुधारिएको प्रदर्शन गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गर्ने अपेक्षा गरिएको छ।