काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा नामिबियाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा सुरु हुनेछ।
नेपाल, नामिबिया र आयोजक नेदरल्यान्ड्स सहभागी शृङ्खलामा नेपालले कुल चार खेल खेल्नेछ। नेपालले आज नामिबियासँग खेल्दै अभियान सुरु गर्नेछ भने जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।
विश्वकप लिग–२ को शीर्ष चारभित्र पर्ने सम्भावना कायम राख्न नेपालका लागि यो शृङ्खला निकै महत्वपूर्ण मानिएको छ। त्यसैले पहिलो खेलमै सकारात्मक नतिजा निकाल्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिनेछ।
शृङ्खलाअघि नेपालले बेलायतमा विशेष तयारी गरेको थियो। जर्सीविरुद्ध खेलिएका दुवै अभ्यास खेलमा जित हासिल गरेपछि टोलीको मनोबल उच्च रहेको छ।
हाल लिग–२ अंक तालिकामा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा रहेको छ। नामिबिया २२ अंकका साथ सातौँ स्थानमा छ भने नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ।
अंक तालिकाको शीर्ष स्थानमा अमेरिका ४३ अंकसहित रहेको छ भने स्कटल्यान्ड ३८ अंकका साथ दोस्रो स्थानमा छ। ओमान ३१ अंकसहित चौथो स्थानमा छ। शीर्ष चारमा पुग्न नेपालले बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब रहेको छ। नेपालसँग समान २४ अंक भए पनि क्यानडा छैटौँ स्थानमा छ भने युएई १४ अंकसहित पुछारमा रहेको छ।
नेपालका लागि आजको खेल केवल दुई अंकको प्रतिस्पर्धा मात्र नभई विश्वकप छनोट यात्रालाई बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।