बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपामा जनवर्गीय संगठनका केन्द्रीय समिति बनाउन सकस

शनिबार, भाद्र २८ २०७६

काठमाडौं भदौ, २८– नेकपालाई जनवर्गीय संगठनका केन्द्रीय समिति बनाउन सकस परेको छ । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

पार्टी केन्द्रले तोकिदिएको सिलिङमा पूर्वएमाले र पूर्वमाओवादीतर्फका नेताको भागबन्डा मिलाउन अप्ठ्यारो परेको हो। कतिपय संगठनमा पूर्ववत् समूहको भागबन्डा मिले पनि नाम छनोट हुन सकेको छैन।

‘आआफ्ना पूर्ववत् समूहको संख्या टुंग्याएपछि त्यसभित्र नाम छनोटमा अप्ठ्यारो आइलागेको छ’, अनेरास्ववियुका एक नेताले अन्नपूर्णसँग भने, ‘नाम छनोटमा पूर्वसमूहको आन्तरिक संगठनमा रस्साकस्सी चलिरहेको छ।’

नेकपाका २२ जनसंगठन छन्। वकिल र इन्जिनियरको एकता भइसकेको छ। किसान महासंघको पनि एकता सकिएको छ। यी संगठनले ३ जेठमा संयोजक र सहसंयोजक पाएका थिए ।

दिनहुँजसो फ्याक्सन इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको छलफल चलिरहेको छ। राष्ट्रिय युवा संघ नेपालले बिहीबार मात्रै केन्द्रीय समितिको संख्या, त्यसमा भागबन्डा र जिल्ला अध्यक्षमा सहमति जुटाएको छ।

कतिपयमा पूर्वएमालेलाई पहिले रहेको संगठनमा केही संख्या थप गरेर केन्द्रीय समितिमा लैजानुपर्ने देखिएको छ। पूर्वमाओवादीतर्फका जनसंगठनलाई पहिले रहेको संख्या घटाएर लैजानुपर्ने बाध्यता छ। यसो गर्दा कसलाई थप्ने, कसलाई घटाउने भन्ने समस्या बनेको छ।

युवा संघको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने भएको छ। पार्टी केन्द्रले तोकेभन्दा ८४ सदस्य थप गरी भागबन्डा भएको हो। संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार पूर्वएमालेबाट १७६ र पूर्वमाओवादीबाट १५५ रहने समझदारी भएको छ।

थप चार जना भने पछि मनोनयन गरिने उनले बताए। नौ सदस्यीय कार्यालयमा ५–४ को भागबन्डा भएको छ। १११ सदस्यीय सचिवालयमा ५७–५२ को सहमति भएको छ।

७७ जिल्लामध्ये ४२ मा पूर्वएमाले र ३५ मा पूर्वमाओवादीका युवा संगठनका नेताले नेतृत्व लिने सहमति छ। केन्द्रीय समितिमा रहने नेताको नाम छनोटको तयारी रहेको उनले बताए।