नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले २५ अर्ब रुपैयाँ बराबरको ‘एनआरबी बन्ड २०८४ (ङ)’ जारी गर्ने भएको छ । बैंकले सोमबार सूचना जारी गर्दै एक वर्ष अवधिको उक्त ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत निष्कासन गर्न लागेको जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार २५ अर्ब रुपैयाँ बराबरको बन्डको बोलकबोल असार २३ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ भने सोही दिन निष्कासन गरिनेछ । बन्डको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ । उक्त बन्डमा न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ भने त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ । बन्डको परिपक्व अवधि एक वर्षको रहनेछ र साँवा रकम २०८४ असार २३ गते फिर्ता गरिनेछ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र बोलकबोलमा सहभागी हुन पाउने जनाएको छ । एउटै सहभागीले फरक–फरक ब्याजदरमा पनि बोलकबोल गर्न सक्ने व्यवस्था छ ।
बोलकबोलबाट प्राप्त प्रस्तावमध्ये न्यून ब्याजदरबाट क्रमशः छनोट गर्दै आह्वान रकम पूरा हुने बिन्दुसम्मको एउटै कट–अफ ब्याजदर कायम गरिनेछ । सोही वा सोभन्दा कम ब्याजदरमा आवेदन दिने संस्थालाई बन्ड बिक्री गरिनेछ । एउटै ब्याजदरमा कुल माग आह्वान रकमभन्दा बढी भएमा समानुपातिक (प्रो–राटा) आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार उक्त बन्ड बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । यद्यपि, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था रहेको छ । साथै, निष्काशन मितिमा सम्बन्धित संस्थाको खातामा पर्याप्त मौज्दात नभए स्वीकृत आवेदन रद्द गरिनुका साथै स्वीकृत रकमको २.५ प्रतिशत जरिवाना र छ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।