कास्की । पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको वार्षिक विकास कार्यक्रम (बजेट) सर्वसम्मतिले पारित गरेको छ।
नगर उपप्रमुख मञ्जुदेवी गुरुङले असार ५ गते प्रस्तुत गर्नुभएको बजेट नगरसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको हो।
महानगरका अनुसार आगामी आर्थिक वर्षको बजेटमा संघीय सरकारबाट सशर्त अनुदानतर्फ २ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ५ करोड ५० लाख रुपैयाँ, समपूरक अनुदानतर्फ १ करोड ८२ लाख रुपैयाँ तथा समानीकरण अनुदानतर्फ ४९ करोड ३७ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। यससँगै संघीय सरकारको वित्तीय हस्तान्तरणबाट कुल ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख रुपैयाँ, विशेष अनुदान ४० लाख रुपैयाँ र समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार रुपैयाँ गरी कुल ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार रुपैयाँ तथा स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। यसअनुसार महानगरको कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहनेछ।
कुल बजेटमध्ये ५५.१५ प्रतिशत चालु खर्च र ४४.९५ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
नगरसभाले आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन तथा कार्यपालिकाबाट सिफारिस भएका विभिन्न विधेयक, संशोधन विधेयक, मापदण्ड र अन्य कानुनहरू पनि पारित गरेको छ।
नगरसभा सम्पन्न भएपछि महानगर प्रमुख धनराज आचार्यले नगरसभाका सदस्य तथा बजेट पारित प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।