सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

डुबेर १० वर्षीया बालिकाको मृत्यु

बिहिबार, असार १८ २०८३

दाङ । दाङको घोराही उपमहानगरपालिका–४ स्थित सिँचाइका लागि निर्माण गरिएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा घोराही–४ लक्ष्मीपुर निवासी आशिका घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनी सुनपुर सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार आशिका बुधबार बिहान दिदीसँग विद्यालय गएकी थिइन्। विद्यालयबाट फर्किने क्रममा घरभन्दा करिब ५०० मिटर टाढा रहेको सिँचाइ ड्याममा पौडी खेल्न पसेपछि डुबेर बेपत्ता भएकी थिइन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली खोजी तथा उद्धारमा परिचालन गरिएको थियो। टोलीले दिउँसो ड्यामबाट बालिकाको शव फेला पारी बाहिर निकालेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।