सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

देशभर मनसुन सक्रिय, यी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

बिहिबार, असार १८ २०८३

काठमाडौं । देशभर मनसुनी वायूको प्रभाव कायम रहेकाले आज विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका साथै देशका पहाडी भूभागका केही स्थान तथा कोशी, मधेश र बागमती प्रदेशका तराईका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने जनाएको छ। लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, देशका पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपासका बासिन्दा तथा यात्रुहरूलाई सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्।