काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकमा सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच कार्यगत एकता तथा समान गति आवश्यक रहेको बताएका छन्।
६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनजीविका, राष्ट्रियता, सुशासन र समृद्ध राष्ट्र निर्माणका विषयमा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालालाई आग्रह गरे।
सभामुख अर्यालले नेपाललाई बस्नलायक र अवसरयुक्त मुलुक बनाउँदै वैदेशिक रोजगारी तथा अन्य कारणले विदेशिएका नेपालीलाई स्वदेश फर्किने वातावरण सिर्जना गर्न सबै पक्षले भूमिका खेल्नुपर्ने बताए। विकास र सुशासनका काम अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिन नहुने र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
उनले अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री सोच तथा क्षमतालाई समन्वय गरेर मात्रै मुलुकलाई तीव्र विकासको दिशामा अघि बढाउन सकिने धारणा राखे।
सभामुख अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘स्पिड र स्पिरिट’ (गति र भावना) मिल्दा मात्र जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्न सकिने बताए। उनले संविधानको अक्षरशः पालना गर्दै कानुनी राज्यको अवधारणालाई कमजोर हुन नदिई संवैधानिक व्यवस्थाभित्र रहेर अघि बढ्नुपर्नेमा पनि जोड दिए।
उनले लोकतान्त्रिक अभ्यास र राजनीतिक अवसरका लागि अघिल्लो पुस्ताको योगदानको सम्मान गर्दै वर्तमान र भावी पुस्ताको ज्ञान, क्षमता र नवीन सोचलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए।