सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता, बाढी जोखिम क्षेत्रमा सचेत रहन आग्रह

मंगलबार, असार १६ २०८३

 झापा । जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

सोमबार जारी विज्ञप्तिमा प्रशासनले मनसुनी गतिविधि तीव्र भई मेघगर्जन, चट्याङ र भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। साथै, अकस्मात बाढी आउन सक्ने खोला–खहरे नतर्न, त्यस्ता क्षेत्र हुँदै यात्रा नगर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी लिन पनि आग्रह गरिएको छ।

झापाका कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्र बाढीबाट बढी प्रभावित हुने गरेका छन्। गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढी तथा डुबानको उच्च जोखिममा रहेको प्रशासनले जनाएको छ।

सम्भावित विपद्को सामना गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहका संयन्त्रलाई राहत सामग्रीसहित तयारी अवस्थामा राखिएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत प्रतिकार्य योजना बनाएर आवश्यक पूर्वतयारी पूरा गरेको र सुरक्षा निकाय तथा स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी झापाले पनि बाढीको उच्च जोखिममा रहेका क्षेत्रमा विशेष पूर्वतयारी गरेको जनाएको छ। रेडक्रसका अनुसार जिल्लाका आठ हजारभन्दा बढी घरधुरी बाढीको अति उच्च जोखिममा छन्। संस्थाले १२० भन्दा बढी स्वयंसेवक तथा प्राथमिक उपचार टोलीलाई खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ भने आकस्मिक अवस्थाका लागि जिल्लाका सात स्थानमा खाद्यान्न र अन्य राहत सामग्री भण्डारण गरिएको छ।

यसैबीच, समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालय र सशस्त्र प्रहरी बलको आयोजनामा सञ्चालन भएको विशेष तालिम पनि सम्पन्न भएको छ। असार ९ गतेदेखि सञ्चालन गरिएको तालिममा झापाका पाँच नगरपालिकाका २० जना नगर प्रहरीलाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा दक्ष बनाइएको छ।