काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले भट्टलाई सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो।
शपथपछि अर्थमन्त्री वाग्लेले पुँजी बजारमा विश्वास अभिवृद्धि गर्दै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिन अध्यक्ष भट्टले विशेष ध्यान दिनुपर्ने बताए।
उनले कुनै पनि प्रकारको लोभ, दबाब वा प्रभावमा नपरी लगानीकर्ताको हित संरक्षण गर्न आग्रह गर्दै सरकारले आवश्यक सबै सहयोग गर्ने बताए। साथै, पुँजी परिचालनमार्फत आर्थिक विकासलाई टेवा पुग्ने वातावरण निर्माण गर्न निर्देशन दिए।
अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छमासिक र वार्षिक कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामा त्रास सिर्जना गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न पनि उनले जोड दिए।
उनले समयसीमा तोकेर सुधारका योजना कार्यान्वयन गर्न, बजारमा आत्मविश्वास बढाउन र नियामक निकायको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्दै मन्त्रालयबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पारे। साथै, धेरै बोल्नुभन्दा नतिजामुखी काम गर्न र प्रत्येक हप्ता बजारको अवस्थाबारे जानकारी गराउन पनि निर्देशन दिए।
नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र अर्थमन्त्रीको निर्देशनअनुसार पुँजी बजारको विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। आफ्नो ज्ञान, अनुभव र सीपलाई लगानीकर्ताको हित संरक्षण तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न प्रयोग गर्ने उनले बताए।
उनले पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन तथा सिफारिसलाई कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता पनि जनाए।