सरकारले तोकेको दरअनुसार ट्याक्सी चढ्नेबित्तिकै मिटरमा १४ रुपैयाँ उठ्छ । त्यसपछि प्रत्येक २ सय मिटरमा ७ रुपैयाँ ४० पैसाका दरले चढ्दै जानुपर्ने हो ।
यस हिसाबले करिब १५ सय मिटर दूरीको पृथ्वीचोक पुग्न चिप्लेढुंगाबाट बढीमा ७० देखि ७५ रुपैयाँ लाग्नुपर्ने हो । तर, गण्डकी प्रदेश सभाका सांसदले यो दूरी तय गर्न दुईदेखि तीन सय रुपैयाँ तिर्न बाध्य भइरहेको गुनासो गरेका छन् ।
अर्थ तथा विकास समितिले बुधबार डाकेको संसदीय समितिको छलफलमा प्रदेश सभाका सांसदहरूले ट्याकसी छढ्दा हरेकपटक ठगिने गरेको गुनासो गरेका हुन् ।
सांसद जनकलाल श्रेष्ठले राष्ट्र बैंक चोकबाट संसद् भवन पुग्न चार सय रुपैयाँ तिर्दै आएको बताए । यो दूरीमा मिटरमा उठेको भाडा तिर्ने हो भने बढीमा एक सय ५० रुपैयाँ पथ्र्यो । कहिलेकाहीँ बार्गेनिङ गर्दा तीन सय रुपैयाँसम्म तिरेर उम्कने गरेको उनले सुनाए ।
अर्का सांसद हरिशरण आचार्यले ट्याक्सी चढ्नुअघि सांसद भएको परिचय दिने गरेको बताए । उनले भने, ‘मिटरमा उठेको रकममा ५० रुपैयाँ थप्दिन्छु भनेर बार्गेनिङ गरेपछि मात्रै ट्याक्सी चढ्न पाउँछु ।
हामी सांसदले यसरी परिचय दिएर बार्गेनिङ गर्दा त यस्तो छ, सर्वसाधारणको अवस्था कस्तो होला रु ट्याक्सीमा ठगिने मात्रै होइन, अपहेलित नै हुनुपर्छ ।’ यस्तै, गुनासो अर्का सांसद इन्द्रलाल सापकोटाले पनि गरे ।
उनले भने, ‘कोट लगाएको भलाद्मी मान्छेले पनि के किचकिच गरेको होला भन्दै ट्याक्सीचालकले होच्याउँछन् । मन कटक्क खान्छ ।’
कैयौँपटक यो ट्याक्सीले मिटरमा जान मानेन भनेर प्रहरीमा गुनासो टिपाएको पनि उनले बताए । सांसदहरूको यो गुनासोले पोखराका ट्याक्सीले सर्वसाधारण यात्रुलाई कसरी ठग्छन् भन्ने प्रस्ट्याउँछ ।
यही अवस्थामा मिटरमा चलाउन सकिन्न: ट्याक्सी व्यवसायी
पोख्रेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाश तिवारीले समयअनुसार भाडा समायोजन नहुँदा समस्या भएको बताए । मिटरमा यात्रु नबोकेको स्वीकार गर्दै उनले मिटर लगाए सवारीधनी ठगिने टिप्पणी गरे ।
उनले ०६९ सालदेखि भाडा समायोजन नभएको भन्दै ट्याक्सी चढेपछि सुरुमा एक लिटर पेट्रोलको मूल्य र पछि पल्सअनुसार १४ रुपैयाँको दरले भाडादर निर्धारण गरिए मात्र ट्याक्सी मिटरमा गुडाउन सकिने सर्त राखे ।
गण्डकी ट्याक्सी व्यवासायी प्रालिका अर्जुन पौडेलले पोखराको सडकमा मिटरमा ट्याक्सी गुडाउन नसक्ने बताए । पोखरामा दुईतर्फी यात्रु पाउनै मुस्किल हुने उनको भनाइ छ । घाटा खाएर कसैले पनि सेवा दिन नसक्ने उनको टिप्पणी छ ।
गण्डकी–धौलागिरी सार्वजनिक यातायात व्यवसायी प्रालिका अध्यक्ष केदार पौडेलले वैज्ञानिक भाडादर कायम गरेर कार्यान्वयनमा जानुपर्ने धारणा राखे । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले पोखरामा मिटरमै ट्याक्सी गुड्नुपर्नेमा जोड दिए ।
मिटरमा नचले कडा कारबाही गर्छौँः मन्त्री बस्नेत
भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मिटरमा नचल्ने ट्याक्सीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । समितिको बैठकमै ट्याक्सी व्यवसायीहरूले अहिलेको अवस्थामा मिटरमा ट्याक्सी गुडाउन नसक्ने टिप्पणी गरेपछि उनी कड्किएका हुन् ।
मिटरमा नगुड्ने ट्याक्सीलाई तत्काल कारबाही गर्न कास्की प्रहरीलाई उनले बैठकमै निर्देशन दिए । बिहीबारबाट मिटरमा नगुड्ने ट्याक्सी नियन्त्रणमा लिन कास्की ट्राफिक प्रमुख दानबहादुर कार्कीलाई उनले निर्देशन दिएका हुन् ।
‘घाटा भयो, त्यसैले यात्रु ठग्छौँ भन्न पाइन्न, पहिला मिटरमा ट्याक्सी चलाउनुहोस्, बाँकी भाडा समायोजन के–के गर्ने हो कानुन बनाएर गर्दै जाउँला,’ उनले भने, बिहीबारबाट पोखरामा मिटरमा ट्याक्सी चल्नुपर्छ, कानुन मान्दिनँ भन्ने अधिकार कसैलाई छैन,’ बैठकमा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरामा मिटरमा ट्याक्सी नचल्दा सर्वसाधरण ठगिएको गुनासो आएको र संसद्मै कुरा उठेकाले सरोकारवालाबीच छलफल गरेको बताए ।