खोटाङ । सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फोक्सिङटार र बङ्शिलाघाटमा जडान गरिएका अस्थायी बेलिब्रिज हटाइएपछि खोटाङको पूर्वी तराईसँगको सीधा यातायात सम्पर्क प्रभावित भएको छ। वर्षायाम सुरु भएसँगै अस्थायी संरचना सुरक्षित राख्न दुवै स्थानका बेलिब्रिज निकालिएको हो।
पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने मुख्य नाकामा रहेका अस्थायी बेलिब्रिज हटाइएपछि स्थानीयवासीलाई आवतजावतमा ठूलो समस्या परेको छ। फोक्सिङटार र बङ्शिलाघाटमा स्थायी मोटरेबल पुल नहुँदा हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्षात् सुरु भएपछि हटाउने अभ्यास दोहोरिँदै आएको छ।
पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालका अनुसार निरन्तरको वर्षाले सुनकोशीमा पानीको सतह बढेपछि गत वैशाख २७ गतेदेखि बङ्शिलाघाटको बेलिब्रिज हटाउन थालिएको हो। बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने बङ्शिलाघाटमा पहिलोपटक अस्थायी बेलिब्रिज जडान गरिएको थियो।
उक्त बेलिब्रिज सञ्चालनमा हुँदा खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिकासहित भोजपुरका केही क्षेत्रका नागरिकलाई पूर्वी तराई आवतजावत गर्न सहज भएको थियो। तर बेलिब्रिज हटाइएपछि अब करिब छ महिना झोलुङ्गे पुलकै भर पर्नुपर्ने अवस्था आएको स्थानीय युवराज मगरले बताए ।
बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले रु १ करोड ८७ लाखमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई उपलब्ध गराएको थियो। बेलिब्रिज जडान तथा व्यवस्थापनको ठेक्का गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले भ्याटसहित रु ५७ लाखमा लिएको थियो।
यता, बङ्शिलाघाटमा स्थायी मोटरेबल पुल निर्माणका लागि कालिका–वेदांसी जेभीसँग रु १९ करोड १८ लाख ४१ हजार ४०० लागतमा ३३ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ। विसं २०७९ मङ्सिर १ गतेबाट सुरु गरिएको पुल निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।
त्यसैगरी, फोक्सिङटारको अस्थायी बेलिब्रिज पनि जेठ ३ गतेदेखि पूर्ण रूपमा यातायात बन्द गरेर हटाउन थालिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले जानकारी दिनुभयो। सगरमाथा लोकमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डमा रहेको उक्त बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालनमा आएको थियो।
फोक्सिङटारको बेलिब्रिज जडान र हटाउने ठेक्का एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि, कटारी–३ उदयपुरले भ्याटसहित रु ९६ लाख ७७ हजार ९३७ मा लिएको थियो।
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारस्थित मोटरेबल पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएको थियो। सञ्चालनमा आएको एक वर्ष नपुग्दै पुल बाढीले बगाएपछि स्थानीयवासी अस्थायी बेलिब्रिजकै भरमा यात्रा गर्न बाध्य बनेका थिए।
उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले स्थायी पुल पुनर्निर्माण नहुँदासम्म समस्या यथावत रहने बताए। उनका अनुसार बेलिब्रिज हटेपछि पूर्वी तराईबाट खोटाङ आउने सवारीसाधन अब घुर्मी–कटारी हुँदै जयरामघाट भएर आउनुपर्नेछ, जसले यात्राको दूरी र खर्च दुवै बढाउनेछ।
उनले घुमाउरो बाटोका कारण दैनिक उपभोग्य वस्तुको ढुवानी महँगो हुने र त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने उल्लेख गर्दै सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
फोक्सिङटारमा बाढीले बगाएको मोटरेबल पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले गत चैतमा रु ३५ करोड बजेट सुनिश्चित गरेको बताइए पनि हालसम्म निर्माण प्रक्रिया भने अघि बढ्न सकेको छैन।