मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

देशी–विदेशी शक्तिबाट एमाले र ओलीमाथि षड्यन्त्र भइरहेको बादलको आरोप

आइतबार, जेष्ठ ३ २०८३

काठमाडौं ।  उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि देशी–विदेशी शक्तिबाट षड्यन्त्र भइरहेको आरोप लगाउँदै पार्टी पंक्तिले नेतृत्वको रक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार मदन–आश्रित स्मृति दिवसका अवसरमा काठमाडौंको बल्खुस्थित मदननगरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेलाई कमजोर बनाउने र नेतृत्व समाप्त पार्ने योजनाबद्ध प्रयास भइरहेको दाबी गरेका हुन् ।

उपाध्यक्ष थापाले जेन–जी आन्दोलन, निर्वाचन परिणाम, सरकारका गतिविधि, अध्यादेश र अध्यक्ष ओलीमाथिको गिरफ्तारीलगायतका घटनालाई दासढुंगा घटनाक्रमकै निरन्तरताका रूपमा बुझ्नुपर्ने धारणा राखे ।

उनले सरकारले ल्याएको अध्यादेश, मन्त्रिपरिषद्का निर्णय तथा ओलीमाथि लगाइएका मुद्दाहरूलाई लक्षित गर्दै एमालेविरुद्ध योजनाबद्ध अभियान सञ्चालन भइरहेको टिप्पणी गरे ।

थापाले भने, “दासढुंगादेखि अहिलेसम्मका घटनाक्रमले एमाले र यसको नेतृत्वमाथि निरन्तर आक्रमण भइरहेको संकेत गरेका छन् । त्यसकारण पार्टी र नेतृत्वको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी अहिले एमाले कार्यकर्ताको काँधमा आएको छ ।”

उनले एमालेमाथि भइरहेका गतिविधिप्रति पार्टी पंक्ति सचेत हुनुपर्ने र संगठित ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।