मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

मिथिलामा श्रद्धा र सौभाग्यको पर्व ‘बर्साइत’ आज मनाइँदै

शनिबार, जेष्ठ २ २०८३

जनकपुरधाम । ‘बर्साइत’ अर्थात् वटसावित्री पर्व आज मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा श्रद्धापूर्वक मनाइँदै छ। विवाहित मिथिलानी महिलाले अटल सौभाग्य र पति दीर्घायुको कामना गर्दै जेठ औँसीका दिन यो पर्व मनाउने परम्परा रहिआएको छ।

यस पर्वमा महिलाहरू नयाँ वस्त्र धारण गरी आफ्नो बस्ती नजिक रहेका वटवृक्षको फेदमा सामूहिक रूपमा भेला हुन्छन्। सती सावित्रीको आदर्श चरित्र झल्किने गीत गाउँदै उनीहरूले ब्रह्मा, विष्णु, महेशसहित इष्टदेवको पूजा आराधना गर्ने गर्छन्। पर्वका अवसरमा सावित्री र सत्यवानको पौराणिक कथा सुनाउने–सुन्ने चलन पनि रहेको छ।

धार्मिक मान्यताअनुसार सत्य युगमा सती सावित्रीले कठोर तपस्या गरेर आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाएकी थिइन्। सोही तपोबलका कारण उनले अटल सौभाग्यको वरदान प्राप्त गरेको विश्वास गरिन्छ। यही आस्थाका साथ मिथिलानी महिलाले निराहार व्रत बसेर वटवृक्षको पूजा गर्ने परम्परा कायम राखेका छन्।

मैथिल संस्कृतिअनुसार जेठ कृष्ण चतुर्दशीका दिन व्रत सङ्कल्प गरिन्छ भने औँसीका दिन पूजा सम्पन्न हुन्छ। यस वर्ष भने भोलिदेखि अधिकमास सुरु हुने भएकाले सूर्योदयअघि नै व्रत समापन गरिने मैथिल कर्मकाण्डका ज्ञाताहरूले बताएका छन्।

धार्मिक महत्वसँगै यो पर्व सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकसमेत बनेको छ। वटवृक्षमुनि महिलाहरूले गीत, नृत्य, हाँसीमजाक र आपसी दुःख–सुख साटासाट गर्दै पर्व मनाउने परम्पराले सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ।

पहिले ब्राह्मण, कायस्थ र सोनार समुदायमा सीमित मानिने यो पर्व अहिले मिथिलाका विभिन्न जातजातिमा फैलिएको छ। पछिल्लो समय मिश्रित बस्ती र सांस्कृतिक आदानप्रदान बढ्दै जाँदा बर्साइत पर्वले मिथिला समाजमा सांस्कृतिक सहअस्तित्व र परम्परा संरक्षणको सन्देश दिइरहेको जानकारहरू बताउँछन्।