काठमाडौ।ः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन शाह ले संसदको अपमान गरेको भन्दै राजीनामा दिनुपर्ने बताएका छन्।
संघीय सांसद साम्पाङले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री शाहले संसदीय परम्परा र मर्यादाको बेवास्ता गरेको आरोप लगाएका हुन्।
प्रधानमन्त्रीमाथि संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको तथा जनताको सार्वभौम सदनलाई बेवास्ता गरेको आरोप लगाउँदै साम्पाङले नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा प्रधानमन्त्री अनुपस्थित रहेको, छलफलमा सहभागी नभएको र संसदप्रति उत्तरदायी बन्न नसकेको बताएका छन्।
प्रधानमन्त्रीले जनतालाई सम्बोधन नगरी लोकतान्त्रिक मूल्य र मान्यतामाथि आघात पुर्याएको साम्पाङको भनाइ छ।
उनले प्रधानमन्त्री शाहलाई ‘असक्षम र असफल’ को संज्ञा दिँदै जनताका प्रश्नको सामना गर्न नसकेको आरोपसमेत लगाएका छन्।
“आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ ?” विज्ञप्तिमा साम्पाङले प्रश्न गरेका छन्।
न्यूनतम कर्तव्यसमेत पूरा नगरेको भन्दै साम्पाङले नैतिकताको आधारमा प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्।
“कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने देखिन्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।