काठमाडौँ । संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीलाई संसदको गरिमा र संवैधानिक जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने भन्दै उनले त्यसलाई “वारेस पठाउने विषय” बनाउन नहुने टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै आचार्यले मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत तथा सामूहिक रूपमा जवाफदेही रहने संवैधानिक व्यवस्था स्मरण गराएका छन्। उनले संसद बैठकमा उपस्थित हुने, प्रश्नको जवाफ दिने वा नदिने कुरा प्रधानमन्त्री वा मन्त्रीको स्वेच्छाको विषय नभई संवैधानिक बाध्यता भएको उल्लेख गरेका छन्।
आचार्यले लेखेका छन्, “सरकारको नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनुपर्छ। यो वारेस पठाउने विषय होइन। संसदको डिग्निटी र डेकोरमको हेक्का राखौं, अति नगरौं!”
उनको यो अभिव्यक्ति पछिल्लो समय संसदमा प्रधानमन्त्रीको अनुपस्थिति र सरकारको तर्फबाट अन्य मन्त्रीले जवाफ दिएको विषयलाई लिएर भइरहेको राजनीतिक बहसका बीच आएको हो।