काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट सुशासन, उत्पादनमुखी अर्थतन्त्र, एकीकृत पूर्वाधार, सामाजिक उन्नयन र सौम्य शक्तिको सुदृढीकरणलाई केन्द्रमा राखेर ल्याइने बताएका छन् ।
सङ्घीय संसद्को दुवै सदनमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले संविधान, लोकतान्त्रिक मूल्य र असल शासनको आधारमा नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण तथा परिणाममुखी शासन प्रणाली स्थापना गर्ने दिशामा सरकार अघि बढेको बताए ।
उनले आगामी बजेट सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि, गुणस्तरीय सार्वजनिक सेवा तथा समान अवसर सुनिश्चित गर्ने उद्देश्यसहित निर्माण भइरहेको उल्लेख गरे ।
सुशासनलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने व्यवस्था
अर्थमन्त्री वाग्लेले सुशासनलाई नागरिकले प्रत्यक्ष महसुस गर्ने राज्यको नैतिक वैधता, सेवा दक्षता र आर्थिक सामर्थ्यका रूपमा स्थापित गरिने बताए ।
उनका अनुसार आगामी बजेटले सार्वजनिक सेवा द्रुत, विश्वसनीय र प्रविधिमैत्री बनाउनेछ। सेवा प्रवाहमा हुने ढिलाइ, झन्झट र अनावश्यक मध्यस्थताको अन्त्य गर्न एकीकृत डिजिटल सुशासनमा आधारित प्रशासनिक सुधार लागू गरिने उहाँले जानकारी दिए।
सम्पत्ति शुद्धीकरण, राजस्व चुहावट, सार्वजनिक स्रोतको दुरुपयोग तथा सङ्गठित अपराधविरुद्ध अनुसन्धान र अभियोजन प्रणालीलाई थप प्रभावकारी बनाइने पनि उनको भनाइ थियो।
उत्पादनमुखी अर्थतन्त्रमा जोड
अर्थमन्त्री वाग्लेले उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गरिने बताए।
उनले आर्थिक अवसर विस्तार, उद्यमशीलता प्रवर्द्धन, प्रतिस्पर्धात्मक वातावरण निर्माण तथा वित्तीय साधनको उत्पादनशील परिचालनमार्फत नयाँ चरणको आर्थिक सुधार अघि बढाइने स्पष्ट पारे ।
निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै उद्यम–व्यवसायमा रहेका अवरोध हटाइने, सिन्डिकेट र कार्टेलिङ अन्त्य गरिने तथा कर प्रणालीलाई सरल र न्यायोचित बनाइने उनले उल्लेख गरे ।
डिजिटल अर्थतन्त्र, सेवा निर्यात, स्वच्छ ऊर्जा तथा उच्च मूल्य अभिवृद्धियुक्त कृषि क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाइने उनको भनाइ थियो।
एकीकृत पूर्वाधारमार्फत सन्निकटता विस्तार
सरकारले सडक, हवाई, ऊर्जा, सहरी तथा डिजिटल पूर्वाधारलाई एकीकृत दृष्टिकोणका साथ विकास गर्ने नीति लिएको अर्थमन्त्री वाग्लेले बताए ।
उनले बृहत् पूर्वाधार निर्माणमार्फत उत्पादन, बजार, सेवा र अवसरबीचको दूरी घटाउँदै आर्थिक गतिशीलता र सामाजिक एकीकरण सुदृढ गरिने उल्लेख गरे।
डिजिटल सार्वजनिक पूर्वाधार विस्तार गरी सेवा प्रवाह र राष्ट्रिय सन्निकटतालाई नयाँ स्तरमा पुर्याइने तथा जलवायु परिवर्तन र विपद् जोखिमलाई ध्यानमा राखेर उत्थानशील पूर्वाधार विकास गरिने उनले जानकारी दिए ।
सामाजिक उन्नयन र मध्यम वर्ग विस्तारमा प्राथमिकता
अर्थमन्त्री वाग्लेले गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण र सीपमा समान पहुँच सुनिश्चित गर्दै सक्षम मानव पुँजी विकास गरिने बताए ।
उनका अनुसार सामाजिक सुरक्षा प्रणालीलाई थप भरपर्दो बनाइने, कृषि तथा लघु, साना र मझौला उद्योगलाई प्रवर्द्धन गरिने तथा रोजगारमूलक र प्राविधिक शिक्षामा राज्यको लगानी बढाइनेछ।
स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनःसंरचनामार्फत नागरिकको स्वास्थ्य पहुँच र वित्तीय सुरक्षा सुदृढ गरिने पनि उनले बताए ।
आर्थिक समृद्धिका लागि ‘सफ्ट पावर’ प्रयोग
अर्थमन्त्री वाग्लेले आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि र पर्यटनको एकीकृत उपयोगमार्फत नेपालको अन्तरराष्ट्रिय उपस्थिति र प्रभाव विस्तार गरिने बताए ।
उनले विदेशमा रहेका नेपाली समुदायको सीप, सञ्जाल र पुँजीलाई राष्ट्रिय विकाससँग जोडिने तथा गैरआवासीय नेपालीको विशेषज्ञता परिचालन गर्न सहजीकरण गरिने जानकारी दिए ।विस्तार र अन्तरराष्ट्रिय पुँजी परिचालनलाई प्रोत्साहन गर्न कानुनी सुधार गरिने पनि उनको भनाइ थियो।