काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा प्रयोग भएका असंसदीय तथा आपत्तिजनक शब्दहरू संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम १२१ को खण्ड (घ) अनुसार सांसदहरूलाई आफ्नो अभिव्यक्तिमा संवेदनशील रहन ध्यानाकर्षण गराएका हुन् । उक्त नियमले बैठकमा अशिष्ट, अश्लील, अपमानजनक वा सार्वजनिक शिष्टाचार र नैतिकताविपरीत हुने शब्द प्रयोग गर्न निषेध गरेको छ ।
सभामुखले कुनै पनि व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने किसिमका अभिव्यक्ति प्रयोग गर्न नपाइने प्रावधानसमेत स्मरण गराउनुभयो ।
यस क्रममा सभामुख अर्यालले २०८० वैशाख २९ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले प्रयोग गरेको केही शब्दहरू नियमावलीविपरीत रहेको ठहर गर्दै अभिलेखबाट हटाउन आदेश दिएका हुन् ।
सांसद पराजुलीले सम्बोधनका क्रममा प्रयोग गरेकाे ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी’ भन्ने अभिव्यक्तिहरू संसदको गरिमासँग मेल नखाने ठहर गरिएको हो ।
सभामुख अर्यालले आगामी दिनमा संसदमा धारणा राख्दा संसदीय मर्यादा र नियमावलीको पूर्ण पालना गर्न सबै सदस्यहरूलाई आग्रह गरे ।