मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रधानमन्त्री सदनमा उपस्थित नभए विरोध जारी रहने कांग्रेसको चेतावनी

बिहिबार, बैशाख ३१ २०८३

काठमाडौं । नेपाली कांग्रेस ले प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभामा उपस्थित नभएसम्म आफ्नो विरोध जारी रहने जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग राख्दै सरकारको आलोचना गरे ।

उनले देशको कार्यकारी प्रमुखले संसद्जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद भएको टिप्पणी गर्दै सत्तापक्षका सांसदहरूले त्यसलाई सामान्य बनाउन खोजेको आरोप लगाए । संसद् भवनबाट केही सय मिटर दूरीमै प्रधानमन्त्रीको कार्यालय रहेकाले उहाँलाई सदनमा उपस्थित गराउनुपर्ने कांग्रेसको माग रहेको उनले बताए ।

सचेतक राईले नीति तथा कार्यक्रम सरकारको आगामी एक वर्षको दिशा, प्राथमिकता र कार्ययोजना भएकाले त्यसबारे उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने धारणा राखे ।

उनले संविधानको धारा ७६(१०) अनुसार प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै दुई तिहाइ नजिकको समर्थनको आडमा सांसदहरूको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको अनुभूति भएको बताए । प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि सकारात्मक सङ्केत नभएको उनको भनाइ थियो ।