काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ आज अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिने भएका छन् ।
प्रतिनिधिसभाको आजको दैनिक कार्यसूचीमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीले दिने उल्लेख गरिएको छ । बिहान तय गरिएको कार्यसूचीको दोस्रो नम्बरमा उक्त विषय समावेश गरिएको छ ।
यद्यपि, प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन संसदमा जाने वा नजाने भन्ने विषय अझै निश्चित भइसकेको छैन । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले हालसम्म प्रधानमन्त्री संसद जाने कार्यक्रम तय नभएको जानकारी दिएकी छन् ।
यसअघि बुधबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रम पेश गर्ने जिम्मेवारी प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई दिएका थिए । संसद बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षीसहित विभिन्न दलहरूले नीति तथा कार्यक्रम प्रधानमन्त्री स्वयंले पेश गर्नुपर्ने माग गर्दै विरोध जनाएका थिए ।
तर प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले नीति तथा कार्यक्रम पेश गर्न सक्ने व्यवस्था रहेको भन्दै अर्थमन्त्रीलाई सदनमा प्रस्तुत हुन दिइएको थियो । यद्यपि श्रम संस्कृति पार्टी ले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान राख्दै संसद बहिष्कार गरेको थियो ।