बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बाढी जोखिम र सडक विस्तारका कारण बिपी र हिल्सा–सिमकोट सडक बन्द

बिहिबार, बैशाख ३१ २०८३

काठमाडौँ  । सम्भावित बाढीको जोखिम तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जोड्ने बिपी राजमार्ग मा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

प्रहरीका अनुसार उक्त सडकखण्डमा २०८३ वैशाख २१ गते साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । अर्को आदेश नभएसम्म रातिको समयमा आवागमन बन्द रहने जनाइएको छ ।

त्यसैगरी, हिल्सा–सिमकोट सडकखण्ड अन्तर्गत हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण यातायात सेवा अवरुद्ध गरिएको प्रहरीले जनाएको छ ।

च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा तथा माटो खस्ने जोखिम बढेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको प्रहरीको सूचनामा उल्लेख छ ।