काठमाडौँ . संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ बुधबार प्रधानमन्त्री बालेन्द्र शाहले दिने कार्यसूची रहे पनि प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले जवाफ दिने तयारी भएपछि प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि बैठक स्थगित गरिएको थियो ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको आजको कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाह स्वयंले दिने उल्लेख गरिएको छ ।
त्यसैगरी आजकै बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, प्रतिनिधिसभा सदस्य गणेश पराजुली ले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।