काठमाडौं । सरकारले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ सहित विभिन्न कानुनी तथा प्रशासनिक निर्णयहरू स्वीकृत गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक तथा कानुनी प्रक्रियालाई थप व्यवस्थित बनाउन उक्त नियमावली स्वीकृत गरेको हो।
बैठकपछि सरकारका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले ‘विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९’ संशोधन प्रस्ताव पनि स्वीकृत गरिएको जानकारी दिए।
त्यस्तै, भूमि व्यवस्थापनसँग सम्बन्धित कानुनी प्रावधान परिमार्जन गर्दै ‘भूमि सम्बन्धी २१औँ संशोधन नियमहरू, २०८३’ पनि स्वीकृत गरिएको छ।
मन्त्रिपरिषद् बैठकले सरकारी लगानी व्यवस्थापन समितिमा दुई जना प्रतिनिधिसभा सदस्यलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ। जसअनुसार सांसद सुशील खड्का र योगेश गौचन थकाली लाई सदस्यमा मनोनयन गरिएको छ।