मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बाहिरिएकोप्रति कांग्रेसको आपत्ति

मंगलबार, बैशाख २९ २०८३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिएको घटनाप्रति असहमति जनाएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीको उक्त व्यवहारलाई संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन भएको भन्दै आपत्ति जनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको राष्ट्रिय महत्वको उक्त बैठकमा प्रधानमन्त्रीले अन्त्यसम्म सहभागिता नजनाउनु र बीचमै बाहिरिनु अस्वाभाविक तथा गलत सन्देश दिने कार्य भएको कांग्रेसको भनाइ छ ।

विज्ञप्तिमा प्रधानमन्त्रीको पोशाकबारे संसदभित्र भएको टिप्पणीको प्रसङ्ग पनि उठाइएको छ । राष्ट्रिय पोशाक कानुनी रूपमा अनिवार्य नभए पनि संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राज्यको प्रतीकात्मक गरिमा र राष्ट्रिय पहिचानप्रति सम्मान देखाउने परम्परा रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले संसदलाई केवल सरकार निर्माणको गणितीय थलो नभई लोकतान्त्रिक संस्कार निर्माण गर्ने सर्वोच्च मञ्चका रूपमा व्याख्या गर्दै त्यहाँका हरेक गतिविधिले लोकतान्त्रिक संस्कृति र भावी पुस्तामा समेत प्रभाव पार्ने उल्लेख गरेको छ ।

पार्टीले संसदीय इतिहास र स्थापित परम्पराका दृष्टिले उक्त व्यवहारलाई स्वीकार गर्न नसकिने भन्दै यस्तो अमर्यादित कार्यप्रति असहमति जनाएको छ ।