बागलुङ । निसीखोला गाउँपालिकाका विपन्न बालबालिकालाई लत्ताकपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
‘स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्र्ड क्यानडियन’ संस्थाको सहयोगमा रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स, काठमाडौँले गाउँपालिकाभित्रका २ हजार ९१३ बालबालिकालाई सामग्री वितरण गरेको हो । वितरण गरिएका सामग्रीको कुल मूल्य करिब दुई करोड ३४ लाख रुपैयाँ बराबर रहेको जनाइएको छ ।
गाउँपालिकाका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई म्याट सेट, झुल, झोला, सिरक र ट्रयाकसुटलगायतका सामग्री प्रदान गरिएको रोटरी क्लब अफ हिमालयन ग्लोफोर्सका अध्यक्ष भाइराजा पाण्डेले जानकारी दिए ।
पाण्डेले दूरदराजका विपन्न बालबालिकाको अध्ययन सहज बनाउन यस्तो सहयोग गरिएको बताए । “विगतदेखि नै हामीले विकट क्षेत्रका बालबालिकालाई सहयोग गर्दै आएका छौँ, आगामी दिनमा पनि अन्य क्षेत्रमा सहयोग विस्तार गर्ने योजना छ,” उनले भने ।
यसैबीच, निसीखोला गाउँपालिका–५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज सापकोटाले यस्तो सहयोगले बालबालिकाको अध्ययनप्रति रुचि बढ्ने बताएका छन् । आर्थिक अभावका कारण धेरै बालबालिकाले विद्यालय पोसाक तथा आवश्यक सामग्री जुटाउन नसक्ने अवस्था रहेको भन्दै उनले यो सहयोगले ठूलो राहत पुगेको बताए ।