काठमाडौँ । संघीय संसदअन्तर्गतका विभिन्न ८ वटा विषयगत समितिको बैठक आज सिंहदरबारमा बस्दैछ । विभिन्न समितिका कार्यकक्षमा बस्ने बैठकहरूमा बजेट कार्यान्वयन, मन्त्रालयगत कार्ययोजना, सडक सुरक्षा र अनुगमनसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
संसद सचिवालयका अनुसार बिहान १० बजे एकै समयमा चारवटा समितिको बैठक बस्नेछन् ।
अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयको कामकारबाही, चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको अवस्था तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे छलफल हुनेछ । सोही बैठकमा आवश्यक उपसमिति गठन गर्ने तयारीसमेत रहेको छ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षा तथा मनसुनका समयमा सवारी व्यवस्थापनबारे छलफल हुने कार्यसूची छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वर्तमान अवस्था र आगामी कार्ययोजनाबारे छलफल हुनेछ भने सार्वजनिक लेखा समितिमा समितिसम्बन्धी प्रस्तुतीकरण हुने जनाएको छ ।
बिहान साढे १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ, जसले उपसमिति गठनबारे निर्णय गर्नेछ ।
त्यसैगरी बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठकमा मधेसी आयोगका पदाधिकारीसँग आयोगको कामकारबाहीबारे छलफल हुनेछ । सोही समयमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्नेछ, जसमा गण्डकी प्रदेशमा गरिएको स्थलगत अनुगमन तथा अन्तरक्रिया प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ ।
दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । उक्त बैठकमा भूमिहीन नागरिकका लागि बनाइएका होल्डिङ सेन्टरको अनुगमनसम्बन्धी विषयमा छलफल केन्द्रित रहने सचिवालयले जनाएको छ ।