काठमाडौँ । देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । साथै, मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ । तराईका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ ।
महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा अन्य पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।