मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि ५६ क्यामेरा जडान

शुक्रबार, बैशाख २५ २०८३

 बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पहिलोपटक हिउँचितुवा गणनाका लागि स्वचालित क्यामेरा जडान गरिएको छ।

हिउँचितुवाको वास्तविक संख्या पत्ता लगाउने उद्देश्यसहित ३ हजार २०० मिटरदेखि ५ हजार ५०० मिटर उचाइसम्मको क्षेत्रमा ५६ स्थानमा सेन्सरसहितका क्यामेरा राखिएको हो।

आरक्षका रेन्जर सागर सुवेदीका अनुसार तीन समूहमा विभाजित प्राविधिक टोलीले छ वटा सिकार ब्लकमा क्यामेरा जडान गरी काम सम्पन्न गरेको हो। टोलीले करिब १५ दिन लगाएर क्यामेरा राख्ने कार्य सम्पन्न गरेको हो।

क्यामेराले ४५ दिनसम्म स्वचालित रूपमा तस्बिर सङ्कलन गर्नेछ भने प्रत्येक १५ दिनमा ब्याट्री र मेमोरी कार्ड परिवर्तन गर्न प्राविधिक टोली पुनः सम्बन्धित क्षेत्रमा पुग्नेछ।

सुवेदीका अनुसार सम्भावित बासस्थान, चट्टानी क्षेत्र, ओडार तथा जङ्गलका बाटोहरूमा क्यामेरा राखिएको छ। सङ्कलित तस्बिरका आधारमा चितुवाको शरीरमा रहेका धब्बा मिलाएर छुट्टाछुट्टै पहिचान गरी संख्या निर्धारण गरिनेछ।

यस गणनामा करिब १५ जना कर्मचारी तथा प्राविधिक संलग्न छन्। ढोरपाटन सिकार आरक्षको क्षेत्रफल १ हजार ३२५ वर्ग किलोमिटर रहेको छ, जसको मुख्यालय बागलुङमा भए पनि क्षेत्र म्याग्दी र रुकुमसम्म फैलिएको छ।

आरक्षका सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा क्यामेरा राखिएको हो। यससँगै हिउँचितुवाको संख्या, बासस्थान र गतिविधिबारे पहिलोपटक विस्तृत वैज्ञानिक तथ्यांक संकलन हुने अपेक्षा गरिएको छ।