काठमाडौं । सुदन किराँती आफ्नो समूहसहित श्रम संस्कृति पार्टीमा समाहित हुने भएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट राजीनामा दिएपछि किराँती बिहीबार औपचारिक रूपमा श्रम संस्कृति पार्टी मा प्रवेश गर्न लागेका हुन्।
पार्टीका अध्यक्ष हर्क साम्पाङसँग गएराति भएको सहमतिपछि एकताको निर्णय भएको बताइएको छ। उनलाई स्वागत गर्न काठमाडौंको हार्दिक होटलमा विशेष कार्यक्रम आयोजना गरिएको श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले जानकारी दिएका छन्।
सम्झौताअनुसार सुदन किराँतीलाई पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी दिइनेछ। साथै उनको समूहलाई एक सचिवसहित १५ केन्द्रीय सदस्य दिने प्रारम्भिक सहमति भएको सांसद ध्रुवराज राईले बताएका छन्।
महासचिव राईका अनुसार देश निर्माणका लागि एकताबद्ध अभियान अघि बढाउने सहमति भएको छ। चुनावपछि किराँती श्रम संस्कृतिसँग निरन्तर छलफलमा रहेका थिए।
यसअघि उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) मा रहे पनि पछिल्लो समय पार्टी पुनर्गठनपछि असन्तुष्टि जनाउँदै जनार्दन शर्मासहित अलग भएका थिए।