मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा शर्मा

शुक्रबार, बैशाख २५ २०८३

काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई भावी प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको छ। परिषद्को सिफारिससँगै उहाँ नेपालको ३३औँ प्रधानन्यायाधीश बन्ने प्रक्रियामा पुगेका छन् ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको बैठकले डा शर्माको नाम सिफारिस गरेको हो। तर उक्त निर्णयमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नोट अफ डिसेन्ट लेख्दै असहमति जनाएका छन्।

स्रोतका अनुसार दाहाल र आङ्देम्बेले विधि, वरिष्ठता र स्थापित परम्पराअनुसार निर्णय हुनुपर्ने धारणा राखेका थिए। बैठकमा सहभागी परिषद्का एक सदस्यले विगतको अभ्यासलाई ध्यान दिन सुझाव दिइएको भए पनि प्रधानमन्त्री शाहले क्षमता र योग्यताका आधारमा डा शर्मा उपयुक्त पात्र रहेको अडान राखेको बताएका छन्।

अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट उनको नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ।

वि.सं. २०२७ असार ४ गते पर्साको वीरगन्जमा जन्मिका डा शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। उनले नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि गरेका छन् ।

कानुन व्यवसायीका रूपमा न्याय क्षेत्रमा प्रवेश गर्नुभएका डा शर्माले २०७० जेठ २७ देखि २०७२ मङ्सिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीशका रूपमा पनि काम गरेका थिए।

उनी प्रधानन्यायाधीश नियुक्त भएमा २०८९ असार ४ गतेसम्म करिब छ वर्ष कार्यकाल रहनेछ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गत चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छन् ।

संविधानको धारा १२९(६) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएपछि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश स्वतः कायममुकायम प्रधानन्यायाधीश हुने व्यवस्था रहेको छ।

यसअघि न्याय परिषद्ले गत फागुन २६ गते प्रधानन्यायाधीश बन्न योग्यता पुगेका सर्वोच्च अदालतका छ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको थियो। उक्त सूचीमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम समावेश थियो।