मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

लुटेराविरुद्ध साहसिक प्रतिकार गर्ने सञ्जिता शाक्यलाई आईजिपी कार्कीद्वारा सम्मान

बिहिबार, बैशाख २४ २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लुटपाटको प्रयासलाई साहसपूर्वक विफल पार्ने सञ्जिता शाक्यलाई सम्मान गरेका छन् ।

काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित ‘नैना एण्ड ईशान ज्वेलर्स’मा गत वैशाख १७ गते दुई जना व्यक्तिले पेस्तोल देखाई लुटपाट गर्ने प्रयास गरेका थिए । उक्त विषम परिस्थितिमा काठमाडौं महानगरपालिका–२२ वटु निवासी सञ्जिता शाक्यले ज्यानको पर्वाह नगरी साहस, आत्मविश्वास र उच्च नागरिक दायित्व प्रदर्शन गर्दै लुटेराको प्रयास असफल बनाएकी थिइन् ।

उनको साहसिक कार्यको कदर गर्दै प्रहरी महानिरीक्षक कार्कीले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा कदरपत्र प्रदान गरी सम्मान गरे ।

प्रहरी प्रधान कार्यालयका अनुसार घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सम्मान कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सञ्जिता शाक्यले विषम परिस्थितिमा देखाएको अदम्य साहस, सतर्कता र जिम्मेवारीबोधको प्रशंसा गरे । उनले सभ्य र सुरक्षित समाज निर्माण तथा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी र नागरिकबीचको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

उनले आगामी दिनमा पनि नागरिकसँगको सहकार्य र प्रविधिको प्रभावकारी प्रयोगलाई उच्च प्राथमिकतामा राखेर काम गरिने बताए ।