मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एनआरएनएद्वारा मेडिकल काउन्सिलको निर्णय फिर्ता लिन सरकारसँग आग्रह

बिहिबार, बैशाख २४ २०८३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विभिन्न देशमा कार्यरत नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

एनआरएनएले उक्त निर्णय विदेशमा रहेका नेपालीहरूको दक्षता र लगानीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने सरकारी नीतिविपरीत रहेको दाबी गरेको छ। संघका अनुसार यसले नेपालको समृद्धिमा योगदान दिने प्रवासी नेपाली विज्ञहरूको मनोबलमा नकारात्मक असर पारेको छ।

एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले ३३ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णयले उनीहरूको व्यावसायिक भविष्य मात्र नभई सम्पूर्ण प्रवासी चिकित्सक समुदायको मनोबल कमजोर बनाएको बताएका छन्।

उनले सम्बन्धित चिकित्सकहरूसँग कुनै समन्वय वा पूर्वजानकारी बिना गरिएको निर्णय प्रक्रियाप्रति पनि आपत्ति जनाउँदै चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा निर्णय लिनुअघि परामर्श, स्पष्ट आधार र पारदर्शिता आवश्यक हुने बताएका छन्।

सापकोटाले सरकारलाई यस्ता निर्णय गर्दा संयम अपनाउन र सम्बन्धित पक्षसँग छलफल गरेर मात्र अघि बढ्न आग्रह गरेका छन्। उनले विदेशमा रहेका नेपाली विशेषज्ञहरूको ज्ञान, सीप र स्रोतलाई नेपालसँग जोड्ने प्रयासमा यस्तो कदमले बाधा पुर्‍याउने बताएका छन्।

एनआरएनएले संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासका आधारमा पेशागत पहिचान खोस्नु न्यायोचित नहुने पनि जनाएको छ।

संघले सरकारसँग उक्त निर्णय सच्याउन र प्रवासी नेपाली विज्ञहरूको योगदानलाई सम्मान गर्ने वातावरण बनाउन आग्रह गरेको छ।