काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार १०५ सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १९३ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १३३ जना तथा तीव्र गतिमा सवारी चलाउने १३९ जनालाई कारबाही गरिएको हो।
त्यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने १३२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ८७ जना र एकतर्फी सडकमा सवारी चलाउने ७९ जना पनि कारबाहीमा परेका छन्।
यस्तै अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १६४ चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।