मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आहा ! एन्जेलिया : इलामको गुफापातालमा फुल्यो नयाँ पर्यटकीय आकर्षण

बुधबार, बैशाख २३ २०८३

इलाम । गुफापाताल क्षेत्रमा एन्जेलिया फूल ढकमक्क फुल्न थालेपछि पर्यटकको आकर्षण बढेको छ। सूर्योदय नगरपालिका–४ मा पर्ने यो स्थान पछिल्लो समय इलामको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।

करिब सात रोपनी क्षेत्रफलमा फैलिएको उद्यान, भ्यूटावर र रङ्गीचङ्गी फूलबारीले सजिएको गुफापाताल पुग्नेबित्तिकै पर्यटक मोहित हुने गरेका छन्। वसन्त ऋतुमा फुल्ने गुराँस प्रजातिको एन्जेलिया फूल यहाँ करिब पाँच हजार बोटमा फुल्ने गरेको छ।

पोखराबाट आएकी शारदा सुवेदी भन्छिन्, “सबै फूल एकैपटक फुल्दा त बेहुलीजस्तै सिँगारिएको देखिन्छ, यहाँ बसिरहुँ लाग्यो।” उनका अनुसार प्राकृतिक सौन्दर्य अद्भुत भए पनि सडक पूर्वाधार अझ सुधार हुनुपर्ने देखिन्छ।

गुफापातालबाट सूर्योदय र सूर्यास्त अवलोकन गर्न, हिमशृङ्खला नियाल्न तथा इलाम, पाँचथर, तेह्रथुम, झापा साथै भारतका सिक्किम र दार्जिलिङ क्षेत्रसमेत अवलोकन गर्न सकिने भएकाले यहाँ पर्यटकको भीड बढ्दो छ। गुफापाताल पर्यटन समितिका अनुसार नेपालसँगै भारत, बङ्गलादेश र भुटानबाट पनि पर्यटक आउने गरेका छन्।

हाल तीन किलोमिटर कच्ची सडकका कारण नेपालतर्फबाट पहुँच केही असहज भए पनि ढुङ्गा सोलिङ गरिएको छ। मेची राजमार्गबाट फिक्कल–छिपिटार हुँदै श्रीअन्तु रोडबाट छिरुवाचोक पुगेर त्यहाँबाट करिब छ किलोमिटर उत्तर लागेपछि गुफापाताल पुगिन्छ। भारततर्फबाट पशुपतिनगर हुँदै कालोपत्र सडक प्रयोग गरेर पनि सजिलै पुग्न सकिन्छ।

वडाध्यक्ष सरन राईका अनुसार २६०० मिटर सडक कालोपत्र भइसकेको छ र बाँकी तीन किलोमिटर निर्माण सम्पन्न भएपछि गुफापातालसम्म पूर्ण रूपमा कालोपत्र सडक पुग्नेछ। “यहाँ सबै प्राकृतिक छ—चिसो हावा, फूलको सुगन्ध र रमणीय दृश्यले पर्यटकलाई लोभ्याइरहेको छ,” उनले भने।

सीमाक्षेत्रमा पर्ने यस स्थान नजिकै मेची नदीको मुहानसमेत रहेको छ, जहाँ स्थानीयले परम्परादेखि पूजा गर्दै आएका छन्। प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका कारण गुफापातालले थप चर्चा बटुल्दै गएको छ।