मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

वर्षापछि अवरुद्ध राजमार्ग खुल्दै, केही स्थानमा अझै अवरोध

बुधबार, बैशाख २३ २०८३

काठमाडौँ । पछिल्ला केही दिनदेखिको वर्षासँगै आएको बाढी र पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये केहीमा यातायात सञ्चालन पुनः सुरु भएको छ।

प्रहरीका अनुसार सोमबार साँझको वर्षापछि पहिरो जाँदा अवरुद्ध भएका ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्री सडक, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकु पहिरो प्रभावित अरनिको राजमार्ग तथा मकवानपुरको भिमफेदी गाउँपालिका–८ भ¥याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सञ्चालनमा आएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार केही राजमार्ग मङ्गलबार साँझदेखि पूर्ण रूपमा सञ्चालनमा आएका छन् भने भोजपुर नगरपालिका बोखिम खण्डको मध्यपहाडी लोकमार्ग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी सञ्चालनमा छन्।

यद्यपि, इलामको रोङ गाउँपालिका–६ सलकपुर हुँदै झापा जाने भित्री कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने चार सय बेँसीस्थित बीपी राजमार्ग, साथै लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग भने अझै पूर्ण रूपमा अवरुद्ध छन्।

त्यसैगरी काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले अवरुद्ध तथा एकतर्फी सञ्चालन भइरहेका सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।